काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेको विषयमा तीव्र बहस भएको छ।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा नेताहरूले सरकारमाथि गम्भीर आरोप लगाउँदै मन्त्रीहरूको ‘सुन प्रकरण’ र सुधन गुरुङ सम्बन्धी विवादबाट जनताको ध्यान मोड्न सुकुम्बासी बस्ती हटाउने विषय अघि सारिएको बताएका छन्।
एक पदाधिकारीका अनुसार, “मन्त्रीहरूको सुन सम्बन्धी विषय र सुधन गुरुङ प्रकरण सार्वजनिक भएपछि त्यसलाई विषयान्तर गर्न सुकुम्बासी बस्तीमा डोजर चलाउने एजेन्डा ल्याइएको हो” भन्ने धारणा बैठकमा उठाइएको छ।
गत चैत २९ मा बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको १७ दिनमै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। सो क्रममा केही मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको विवरण सार्वजनिक भएपछि व्यापक प्रश्न उठेको थियो।
यस्तै, तत्कालीन गृहमन्त्री गुरुङमाथि विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि चौतर्फी आलोचना भएको थियो। अन्ततः उनले वैशाख ९ मा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
कांग्रेस नेताहरूले यी दुवै विषयबाट नागरिकको ध्यान मोड्न सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको निष्कर्ष निकालेका छन्।
बैठकमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाइएको भन्दै कांग्रेसले यस विषयमा चाँडै संस्थागत धारणा सार्वजनिक गर्ने जनाएको छ।




















