काठमाडौं। सरकारले डोजर चलाउने तयारी गरेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाहरू सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय घेराउ गर्न बनस्थलीतर्फ लागेका छन्।
सुकुम्बासीहरूले पार्टी सभापति रवि लामिछानेले चुनावका बेला गरेको प्रतिबद्धता स्मरण गराउँदै विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन्। सुकुम्बासी अगुवामध्येका गोपाल पौडेल ले आफूहरू बनस्थलीतर्फ हिँडिसकेको जानकारी दिँदै शान्तिपूर्ण रूपमा कार्यालय घेराउ गर्ने बताएका छन्।
उनका अनुसार रास्वपाले सुकुम्बासी व्यवस्थापनबिना बस्ती हटाउन नदिने प्रतिबद्धता जनाएको थियो, तर अहिले सोही विपरीत डोजर चलाउने तयारी भइरहेको आरोप लगाइएको छ।
सरकारले भने भोलिदेखि बस्ती हटाउने तयारी अघि बढाइसकेको छ। बिहीबार माइकिङ गरेर बस्ती खाली गर्न सूचना दिइएको थियो। त्यसपछि केही सुकुम्बासीले आफ्नो सामान सार्न थालेका छन् भने केही आन्दोलनका लागि बनस्थलीतर्फ लागेका छन्।
घेराउ गर्न सुकुम्वासी हिडेपछि वनस्थलीस्थित रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच, सुकुम्बासी बस्तीमै रहेका जेन–जी समूहका अगुवाहरू भने बनस्थली नजाने भएका छन्। उनीहरूले थापाथलीमै बसेर सुकुम्बासीलाई साथ दिने बताएका छन्।




















