काठमाडौं। सरकारको निर्देशनअनुसार बस्ती खाली गराउन थालिएपछि थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुम्बासीहरू आन्दोलित भएका छन्।
काठमाडौं महानगरपालिकाले बिहीबार साँझ माइकिङ गर्दै सुकुम्बासीलाई सरसामान सार्न तथा वृद्ध, बालबालिकालाई सुरक्षित स्थानमा लैजान आग्रह गरेको थियो। साथै शनिबारसम्म बस्ती खाली नगरे डोजर प्रयोग गरी संरचना भत्काइने चेतावनी दिइएपछि स्थानीयमा आक्रोश बढेको हो।
आन्दोलनमा उत्रिएका सुकुम्बासीहरूले ब्यानर र प्लेकार्डसहित सरकारी निर्णयको विरोध गरेका छन्। उनीहरूले वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
यसैबीच, सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीको विरोधमा ‘जेन–जी मुभमेन्ट अलायन्स’ को आह्वानमा युवाहरू पनि प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले “डोजर आतंक बन्द गर”, “उठीबास स्वीकार्दैनौं”, “बालेन तेरो पारेले दुःख पाए साराले”, “आवासको हक सुनिश्चित गर” र “अदालतको आदेश पालना गर” जस्ता नारा लगाएका छन्।
प्रदर्शनकारीहरूले प्रहरी परिचालन गरी सुकुम्बासीलाई बलपूर्वक हटाउने कदमलाई अन्यायपूर्ण ठहर गर्दै संविधानले सुनिश्चित गरेको आवासको हक र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताएका छन्।
साथै, वास्तविक भूमिहीन र हुनेखाने छुट्याउन अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गरी दीर्घकालीन तथा न्यायोचित समाधान खोज्नुपर्ने मागसमेत अघि सारिएको छ।




















