काठमाडौं। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार उनलाई नियन्त्रणमा लिए पनि परिसरमा अझै ल्याइएको छैन र हाल ‘होल्ड’ अवस्थामा राखिएको छ।
यसैबीच, बागमती नदी किनार आसपासका सुकुमबासी बस्ती खाली गराउन प्रहरीले सक्रियता बढाएको छ। बिहीबार साँझ थापाथली, सिनामंगललगायत क्षेत्रमा माइकिङ गरेर बस्ती खाली गर्न सूचना दिइएको थियो।
सूचना पाएपछि थापाथली क्षेत्रका सुकुमबासीले शुक्रबार बिहानदेखि आफ्नो घर–टहरा खाली गर्न र सामान सार्न थालेका छन्। महानगरले शनिबारसम्म बस्ती खाली गर्न निर्देशन दिँदै अटेर गरे संरचना भत्काइने र त्यसबाट हुने क्षतिप्रति स्वयं जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ।
यसअघि गृहमन्त्री पदबाट सुदन गुरुङ ले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाह ले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमबासी बस्ती हटाउन निर्देशन दिएका थिए।
स्मरणीय छ, काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि शाहले बागमती किनारका सुकुमबासी हटाउने प्रयास गरेका थिए। तर संघीय सरकारको सहयोग नपाउँदा उक्त अभियान सफल हुन सकेको थिएन।




















