काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुकुम्बासी बस्ती भत्काउने सरकारी निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिब र सुकुम्बासीको पीडा नबुझेको आरोप लगाएका छन्।
साम्पाङले धनी शासकहरूलाई प्रश्न गर्दै भनेका छन् कि गरिब सुकुम्बासीको जीवन, दैनिक संघर्ष र बचाइको वास्तविकता सत्ता सञ्चालन गर्नेहरूले नबुझेको बताए। उनले चुनावका बेला सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागिएको तर अहिले त्यसको विपरीत बस्ती भत्काउने काम भएको उल्लेख गरेका छन्।
उनका अनुसार संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको भए पनि व्यवहारमा सुकुम्बासीमाथि अन्याय भइरहेको छ। “कागजमा अधिकार भए पनि यथार्थमा गरिबको घरमा डोजर चलिरहेको छ,” उनले टिप्पणी गरेका छन्।
साम्पाङले गरिबको घर भत्काउँदा उनीहरूको जीवनयापनमा पर्ने असरबारे सरकार संवेदनशील नभएको आरोप लगाए। उनले धनी र शक्तिशाली व्यक्तिहरू आरामदायी जीवन बिताइरहेका बेला घरबार गुमाएका सुकुम्बासीहरू पुलमुनि रात बिताउन बाध्य भएको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनले सरकारलाई प्रश्न गर्दै “तिमी कस्को सरकार रु” भन्दै जनताको पक्षमा काम गर्न आग्रह गरेका छन्। गरिबमाथि बल प्रयोग गर्नुको सट्टा उनीहरूको समस्या समाधानमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
साम्पाङले विशेषगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सुकुम्बासी बस्ती भत्काउने निर्णयबारे स्पष्ट धारणा माग गरेका छन्। उनले चुनावी वाचा र वर्तमान निर्णयबीच विरोधाभास देखिएको टिप्पणी गरेका छन्।
उनले सरकारलाई सुझाव दिँदै गरिब र निमुखाको पक्षमा उभिन आग्रह गरेका छन्। “सरकार धनीका लागि होइन, गरिबका लागि हुनुपर्छ,” उनले भनेका छन्।
अरुको रोदन र चित्कारलाई संगीत नठान्न चेतावनी दिँदै उनले प्रश्न गरेका छन् “हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार, हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार !”



















