काठमाडौं । थापाथली सुकुम्बासी बस्ती क्षेत्रमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली गराउन माइकिङ सुरु गरेको छ।
महानगरपालिकाले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने चेतावनीसहित आज बस्ती क्षेत्रमा पुगेर सूचना प्रसारण गरेको हो।
आज साँझ नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उपस्थितिमा बस्ती क्षेत्रमा पुगेर स्थानीयलाई निर्धारित समयभित्र स्थान खाली गर्न आग्रह गरिएको जनाएको छ।
माइकिङमार्फत बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई तोकिएको समयभित्र घरटहरा हटाई स्थान खाली गर्न निर्देशन दिइएको महानगर प्रहरीले जनाएको छ।
थापाथली क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा यसअघि पनि महानगरपालिका र बस्तीवासीबीच विवाद हुँदै आएको थियो। आगामी कदमलाई लिएर स्थानीयवासी र प्रशासनबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ।




















