काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा प्रहरीलाई गम्भीर समस्या भइरहेको बताएका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै उनले पछिल्लो समय साइबर अपराधका घटना तीव्र रूपमा बढिरहेको उल्लेख गरे। मोबाइल र इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै साइबर बुलिङ, अनलाइन ठगी र ह्यारेसमेन्टका घटनामा वृद्धि भएको उनको भनाइ छ।
कार्कीका अनुसार सामाजिक सञ्जाल नेपालमा आधिकारिक रूपमा दर्ता नहुँदा प्रयोगकर्ताको विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन कठिनाइ भइरहेको छ। हालसम्म TikTok, Viber, Nimbuzz, WeChat र Poco Live मात्र नेपालमा दर्ता भएका छन्।
उनले Meta अन्तर्गतका Facebook, Instagram र WhatsApp नेपालमा दर्ता नहुँदा समस्या झनै बढेको बताए।
प्रहरीमा हालसम्म ४ हजारभन्दा बढी फेक एकाउन्टमार्फत घृणा फैलाउनेसम्बन्धी उजुरी दर्ता भएको छ भने साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना रिपोर्ट भएका छन्। यस्तै, वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको कार्कीले जानकारी दिए।
उनका अनुसार एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की, यौनजन्य हिंसा र ब्ल्याकमेलिङका घटना पनि बढ्दो क्रममा छन्, जसमा विशेषगरी महिला र युवावर्ग बढी प्रभावित भएका छन्।
कार्कीले विदेशी कम्पनीद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मबाट अनुसन्धानका लागि आवश्यक विवरण लिन ढिलाइ हुने गरेको बताए। उनका अनुसार फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट जानकारी लिन २०–२५ दिनसम्म लाग्ने गरेको छ भने सामान्य बुलिङका घटनामा एक साताभित्र प्रतिक्रिया आउने गरेको छ।
गम्भीर प्रकृतिका घटना, जस्तै नाबालक हराउने वा आत्महत्यासम्बन्धी घटनामा भने २४ घण्टाभित्र सूचना प्राप्त हुने गरेको उनले बताए।
त्यस्तै Discord, X, Snapchat, IMO, Reddit, YouTube र Gmail जस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा सामग्री हटाउने सम्बन्धी प्रतिक्रिया नआउने समस्या समेत रहेको उनले समितिलाई जानकारी गराए।




















