काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
साम्पाङले संविधान संशोधनमार्फत् शासन प्रणाली परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था हुनुपर्ने र सोही प्रमुखले मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्।
उनका अनुसार मन्त्रिपरिषद् गठन गर्दा सभ्यता, जाति, समुदाय र लिङ्गका आधारमा समावेशी चरित्र सुनिश्चित गर्नुपर्नेछ।
त्यस्तै, सरकार सञ्चालनको कार्यविधि स्पष्ट रूपमा तय गर्ने, कानुन निर्माण गर्ने तथा सरकारका कामहरू निर्धारित कार्यविधिअनुसार भए–नभएको अध्ययन, मूल्याङ्कन र निरीक्षण गर्ने संयन्त्र पनि आवश्यक रहेको उनले बताएका छन्।
साम्पाङले सुशासन र प्रभावकारी कार्यान्वयनका लागि शासन प्रणालीमै सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।




















