काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेस तथा नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको दुर्व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अवस्था नसुध्रिए विद्रोह हुनसक्ने चेतावनी दिएका छन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा भन्सार र सुरक्षाकर्मीले तजबिजी अधिकारको दुरुपयोग गरेर सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लगाए। सानो परिमाणमा सामान ल्याउँदा समेत अनावश्यक रूपमा रोक्ने, घण्टौँ कुर्न बाध्य पार्ने र अपमानजनक व्यवहार गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ।
नेता ठाकुरका अनुसार स्पष्ट कानुनको अभावमा हाकिमहरूको मनपरी बढेको छ, जसले भ्रष्टाचार र सास्ती दुवै बढाएको छ। उनले विगतमा नेपालतर्फ आउने अवस्था रहेको स्मरण गर्दै अहिले खाद्यान्न र दैनिक उपभोग्य वस्तुका लागि सीमापारि जानुपर्ने बाध्यता सिर्जना भएको बताए।
‘गरिब जनता आधा किलो चामल, पीठो, नुन–तेलका लागि भारत जान बाध्य छन्,’ उनले भने, ‘त्यस्तो सानो सामान ल्याउँदा पनि लुटिने र खोसिने डरले जनता त्रसित छन्।’
सीमामा भइरहेको सास्ती र राज्यको उदासिनताका कारण जनतामा असन्तोष बढ्दै गएको भन्दै उनले आफूहरू विद्रोहको नजिक पुगेको उल्लेख गरे। ‘हामी विद्रोही होइनौँ, तर राज्यले यस्तै व्यवहार गरिरह्यो भने परिस्थिति नियन्त्रण बाहिर जान सक्छ,’ ठाकुरले चेतावनी दिए।
उनले विशेषगरी महिलामाथि हुने दुर्व्यवहारप्रति आक्रोश व्यक्त गर्दै ‘रोटी–बेटी’ को सम्बन्धमा समेत अवरोध सिर्जना गरिएको बताए। विवाहका गाडी रोकिने र जन्तीलाई पैदल हिँडाउन बाध्य पार्ने जस्ता गतिविधिले दुई देशबीचको सामाजिक–सांस्कृतिक सम्बन्ध कमजोर बनाएको उनको भनाइ छ।
सरकारप्रति आलोचना गर्दै उनले वर्तमान नेतृत्वलाई ‘हेलिकप्टर सरकार’को संज्ञा दिए। राजधानीकेन्द्रित शासनशैलीका कारण मधेसको वास्तविक समस्या नबुझेको भन्दै उनले सत्ताले अझै पनि मधेसको आवाजलाई बेवास्ता गरिरहेको आरोप लगाए।




















