काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन (आइतबार) सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीले सास्ती खेप्नुपरेको भन्दै तत्काल सेवा विस्तार गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पौडेलले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले पछिल्लो समय सार्वजनिक बिदाका बेला सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीहरू समस्यामा परेको उल्लेख गर्दै यसले स्वास्थ्य सेवाको पहुँच खुम्चिएको र नागरिकमाथि थप आर्थिक बोझ परेको बताएका छन्।
उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा सार्वजनिक बिदाका दिनमा समेत सेवा निरन्तरता दिने उद्देश्यले विभिन्न सुधारका काम अघि बढाएको स्मरण गरेका छन्। अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिने, ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने तथा ‘भ्हतभलमभम ज्भबतिज क्भचखष्अभ’ मार्फत सेवा समय विस्तार गर्ने जस्ता कदम चालिएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन सुरु गरिएको र अस्पतालहरूमा जनशक्ति अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ कर्मचारी थप्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइएको पनि उनले बताएका छन्।
पौडेलले सरकारी तथा निजी क्षेत्र दुवैलाई सन्तुलित रूपमा अघि बढाएर मात्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बन्न सक्ने धारणा राख्दै, स्वास्थ्य सेवा विस्तार र सुधारका अघिल्ला पहलहरूलाई निरन्तरता दिन सरकारसँग विशेष अनुरोध गरेका छन्।
उनका अनुसार स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा खुम्च्याउने होइन, अझ विस्तार गर्ने नीति आवश्यक रहेकोमा जोड दिएका छन्।




















