काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनमार्फत् पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिने बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले असोजसम्म महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। “महाधिवेशनबाट युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताहरू पनि नयाँ भूमिकामा प्रस्तुत हुने गरी छलफल गर्दैछौँ,” उनले भने।
प्रचण्डले आगामी ६ महिनाभित्र महाधिवेशन गरेर पार्टी पुनर्गठन गर्ने योजना रहेको बताए। वामपन्थी तथा कम्युनिस्ट आन्दोलनको पुनर्गठन अपरिहार्य रहेको उल्लेख गर्दै उनले पार्टीलाई सशक्त बनाउने अवसर अहिले प्राप्त भएको धारणा राखे।
उनले पार्टीभित्र पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको ठूलो समूह रहेको उल्लेख गर्दै अहिले सरकारबाहिर रहेको अवस्थामा पार्टी सुधार र पुनर्गठनमा ध्यान केन्द्रित गर्न सकिने बताए।
प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग संवाद सुरु भएको जानकारी दिए। उनका अनुसार वर्तमान राजनीति नयाँ ढंगबाट संवादतर्फ अघि बढिरहेको छ।
अघिल्ला चुनावी अनुभवहरू सम्झँदै उनले २०६४ मा बहुमत नजिक पुगेको, २०७४ मा कम्युनिस्ट पार्टी दुई तिहाइ नजिक पुगेको र हालको पराजयको अवस्थासमेत पार्टीले भोगेको बताए।
पार्टीभित्र निराशा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले आन्दोलन र समाजवादको नयाँ उभार छिट्टै आउने दाबी गरे। “हामीले सोचेभन्दा छिट्टै जनताको, आन्दोलनको र कम्युनिस्ट पार्टीको अर्को उभार आउँछ,” उनले भने।
सरकारमा रहेका दलहरूको कामकारबाहीप्रति संकेत गर्दै उनले हालका घटनाक्रमले राम्रो संकेत नदेखाएको टिप्पणी गरे। साथै ‘नेपो बेबी’ र ‘करप्सन’ जस्ता विषय जनताले बुझ्ने दिन नजिक आएको दाबीसमेत उनले गरेका छन्।




















