काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएसँगै गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नै सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङको राजीनामापछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेका हुन्।
विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारी सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। उनको राजीनामा र छानविनको माग चौतर्फी रुपमा उठेपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन्।
सरकार गठन भएको २६ दिनमै उनले पद त्याग गरेका हुन्। सम्पत्ति विवरणमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए।
केही दिनअघि सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको थियो। साथै माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरेको लगानी र उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत् कारोबार गरिएको भन्ने विषय सार्वजनिक भएपछि उनीमाथि दबाब बढेको थियो।




















