काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक संवादमार्फत् एकताबद्ध भएर १५औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका सबै नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए। “पार्टीको अहिलेको अवस्थालाई मध्यनजर गरेर साथीहरूले परिस्थिति बुझ्नुहुन्छ,” उनले भने, “हामी व्यापक एकताको पहल गरिरहेका छौँ र सबै मिलेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नेछौँ।”
थापाले सरकारका कामकारबाहीप्रति आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै तथ्यमा आधारित आलोचना गर्ने र आवश्यक ठाउँमा विकल्पसहित सुझाव दिने नीति रहेको बताए। संविधान कार्यान्वयन, विधिको शासन र लोकतन्त्रका आधारभूत विषयमा भने कांग्रेस सरकारसँगै उभिने उनको भनाइ छ।
“जहाँ संविधान कार्यान्वयन, डेमोक्रेसीका आधारभूत मान्यता र जनहितका विषय छन्, त्यहाँ हामी सरकारलाई साथ दिन्छौँ,” उनले भने, “तर जहाँ सरकार चुक्छ, त्यहाँ सबैभन्दा दरिलो रूपमा नेपाली कांग्रेस उभिन्छ।”
भदौ २४ को घटनाबारे उनले तुरुन्त न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे। राज्यका निकायले कानुनको पालना गर्नुपर्नेमा जोड दिँदै उनले राज्य स्वयंले कानुन उल्लङ्घन गरे लोकतन्त्र कमजोर हुने चेतावनी दिए।
सरकारले केही निर्णयहरू लहडका भरमा गर्दै कानुनी प्रक्रिया मिच्ने प्रवृत्ति देखाएको भन्दै थापाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको पनि बताए।




















