काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा गरी वासिङ्टन डीसी फर्किएका छन्।
नेपाल बसाइका क्रममा उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए। साथै, उनले सूचना प्रविधि (आईटी) क्षेत्रका व्यवसायीसँग अन्तरक्रिया समेत गरेका थिए।
तर, यसपटकको भ्रमणमा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भने भेटवार्ता गरेनन्। यसअघि नेपाल आउने अमेरिकी उच्च अधिकारीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने परम्परा रहे पनि कपुरको भ्रमणमा भेट हुन सकेन।
कपुरले ‘सेलेक्ट–युएस’ लगानी सम्मेलनमा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलसँग पनि छलफल गरेका थिए। अर्थमन्त्री वाग्लेसँग उनले नेपालमा लगानी र व्यापारका सम्भावनाबारे विस्तृत कुराकानी गरेका थिए।
नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउन भ्रमण फलदायी रहेको भन्दै अमेरिकी दूतावास ले कपुरको भ्रमण उपलब्धिमूलक भएको जनाएको छ। दूतावासका अनुसार उनले नेपालको उदाउँदो प्रविधि क्षेत्रमा सहकार्य विस्तारका सम्भावना खोज्दै अमेरिकी र नेपाली निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाउन भूमिका खेलेका छन्।
काठमाडौंमा रहँदा उनले बौद्धनाथ र पाटन दरबार क्षेत्र को पनि भ्रमण गरेका थिए। ती सम्पदाको संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको छ ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी नै सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।




















