काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनको इतिहास, योगदान र वर्तमान चुनौतीबारे टिप्पणी गरेका छन्।
वैशाख ९ (२२ अप्रिल) को अवसरमा फेसबुकमा स्टाटस लेख्दै उनले राणाशासनको कठोर समयबीच पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको स्मरण गरेका छन्।
ज्ञवालीले झण्डै आठ दशकको अवधिमा कम्युनिष्ट आन्दोलनले राष्ट्रिय स्वाभिमानको रक्षा, लोकतन्त्रका आन्दोलनमा अग्रणी भूमिका तथा सामाजिक न्याय, सुरक्षा र समावेशी प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्। उनले ती योगदानप्रति गर्व व्यक्त गरेका छन्।
तर आन्दोलनले विभाजन, सिद्धान्त र व्यवहारबीचको विरोधाभास, जनताका मुद्दाबाट कहिलेकाहीँ टाढिने प्रवृत्ति र व्यक्तिवादी विचलनका कारण गम्भीर धक्का खेप्नुपरेको पनि उनले स्वीकार गरेका छन्। “यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको छ,” उनले उल्लेख गरेका छन्।
उनले पछिल्लो समय केही व्यक्तिहरूले कम्युनिष्ट आन्दोलनको भविष्य समाप्त भएको घोषणा गरिरहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्। “विचारधाराको मृत्यु” र “इतिहासको अन्त्य” जस्ता अवधारणाको प्रसंग जोड्दै उनले फ्रान्सिस फुकुयामा का ‘भविष्यवाणी’ समेत समयसँगै कमजोर भएको टिप्पणी गरेका छन्। उनका अनुसार कम्युनिष्ट आन्दोलनको भविष्य कुनै व्यक्तिको इच्छामा होइन, समाजको ऐतिहासिक विकासक्रम र वर्ग संरचनाको वस्तुगत आवश्यकतामा आधारित हुन्छ।
ज्ञवालीले वर्तमान चुनौतीलाई सामान्य रूपमा लिन नहुने भन्दै आत्मसमीक्षा, संरचनागत पुनर्संरचना र नयाँ परिस्थितिअनुसार सोच र दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले नयाँ ऊर्जा र अन्तरदृष्टिसहित आन्दोलनलाई पुनर्जीवित गर्ने संकल्प गर्न आग्रह गरेका छन्।
स्टाटसको अन्त्यमा उनले संस्थापक महासचिव पुष्पलालसहित सबै अग्रज नेताप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै, कुनै स्वार्थबिना आन्दोलनमा समर्पित कार्यकर्ता र न्यायप्रेमी जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।




















