काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमान चुनौतीबारे टिप्पणी गरेका छन्।
वैशाख ९, २०८३ को अवसर पारेर उनले फेसबुकमा लेखेको स्टाटसमा नेपाली कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै भविष्यका लागि स्पष्ट दिशासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ लगायत अग्रजहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका छन्।
पोखरेलले ती अग्रजहरूको संघर्षबाट प्रेरणा लिएर आगामी दिनमा आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजानुपर्ने बताएका छन्। उनले स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको र काठमाडौं उपत्यका बाहिर जिल्ला कमिटीहरू मार्फत कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन्।
उनले कार्यकर्तालाई आफूलाई पायक पर्ने स्थानका कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कम्युनिष्ट आन्दोलनप्रति सम्मान प्रकट गर्न आग्रह गरेका छन्। साथै, उनले जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनमा समाजवादतर्फ दृढतापूर्वक अघि बढ्ने संकल्प गर्नुपर्ने बताएका छन्।
पोखरेलले आफ्नो स्टाटसमा पछिल्लो समय देखिएको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादलाई चुनौतीका रूपमा उल्लेख गर्दै त्यस्ता प्रवृत्तिहरू अस्थायी रहेको टिप्पणी गरेका छन्। “जबजका समृद्ध विचारका सामु यी प्रवृत्तिहरू केही समयका पाहुना जस्तै हुन्,” उनले उल्लेख गरेका छन्।
उनको भनाइले कम्युनिष्ट आन्दोलनको वैचारिक स्पष्टता र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्ने सन्देश दिएको छ।




















