काठमाडौँ । वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, काठमाडौँ प्रहरीले बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, लागुऔषध, हाडनाता करणीलगायत विभिन्न मुद्दामा फरार २६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका कार्यालयबाट खटिइएका प्रहरी टोलीले २१ पुरुष र पाँच महिलालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलाई विभिन्न अदालतबाट चार वर्ष १० महिना ११ दिन कैद र रु १२ लाख ९१ हजारभन्दा बढी जरिवाना ठहर भएको थियो । (रासस)



















