ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको एमालेले गृहमन्त्रीबाट राजीनामा मागेको हो।
एमालेले सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको हो ।
प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयहरू पारदर्शी, विश्वसनीय र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
पार्टीले प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको भन्दै सुशासन, जवाफदेहिता र उत्तरदायित्वलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताएका छन् ।एमालेले कुनै पनि अनुसन्धान शक्ति वा प्रभावबाट मुक्त हुनुपर्ने भन्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयमा गहिरो छानबिन गर्न आग्रह गरेको छ। एमालेले गृहमन्त्री स्वयमले अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने पनि माग गरेको छ।




















