काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ।
लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार ती ग्राहकबाट १ करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ बक्यौता असुल हुन बाँकी रहेको छ।
बक्यौता नतिर्नेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। महसुल असुलीलाई तीव्र बनाउन केन्द्रले यस आर्थिक वर्षमा १,८२६ ग्राहकको विद्युत् लाइनसमेत काटेको जनाएको छ। छ महिनासम्म पनि महसुल नतिरेका ग्राहकको लाइन काटिएको हो।
केन्द्रअन्तर्गत हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।
बक्यौता असुलीका लागि लाइन काट्ने, सूचना दिने लगायतका कार्य निरन्तर भइरहेको कार्यालयले जनाएको छ।




















