काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकार र सत्तारुढ पक्षले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लिङदेनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको विषयमा सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको बताए। साथै, ५० लाख रुपैयाँ बराबरको सेयर सम्पत्ति विवरणमा उल्लेख नगरिएको आरोपबारे पनि उनले प्रश्न उठाएका छन्।
उनले भने, “सुशासनको कुरा गर्ने गृहमन्त्रीबारे सञ्चार माध्यममा आएका विषयमा सरकारले तुरुन्तै आफ्नो धारणा स्पष्ट पार्नुपर्छ।” लिङदेनले गृहमन्त्री स्वयं र पार्टी सभापतिले पनि आफ्नो ‘पोजिसन’ प्रष्ट गर्नुपर्ने बताए।
सरकारको कार्यशैलीप्रति आलोचना गर्दै उनले स्टन्टका भरमा देश नचल्ने टिप्पणी गरे। साथै, सडकछेउका संरचना हटाउने नाममा सरकारले ‘राज्य आतंक’ सिर्जना गरेको आरोप पनि लगाए।
लिङदेनले सेवा प्रवाहमा सुधारभन्दा प्रचारबाजी बढी भएको संकेत गर्दै यस्ता गतिविधिले दीर्घकालीन समाधान नदिने बताएका छन्।



















