काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुरु गर्न सरकारसँग माग गरेको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले गुरुङमाथि उठेका आरोपहरू ढाकछोप गरिए जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण विषयमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त प्रारम्भ गर्न आग्रह गरिएको छ।
कांग्रेसले छानबिन प्रक्रियामा ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर आघात पुर्याउने उल्लेख गरेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको पार्टीको धारणा छ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो। गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोका साथै राजनीतिक नैतिकता र पारदर्शितासम्बन्धी गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि सम्बन्धित पदमै रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका रहन सक्ने भएकाले छानबिनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।





















