काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ।
आज दिउँसो ३ बजे बस्ने अनुशासन समितिको बैठकले सो स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने तयारी भएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिएका छन्। उनका अनुसार खड्का पक्षले सर्वोच्च अदालतको फैसला स्वीकारेपछि यस्तो कदम चाल्न लागिएको हो।
कांग्रेसले गत वैशाख २ गते खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो। यसअघि २ माघमा शेरबहादुर देउवा र खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरेपछि कांग्रेसभित्र सहमति खोज्ने प्रयास तीव्र भएको छ। सोही क्रममा आइतबार साँझ सभापति गगन थापाले खड्कालाई गोल्फुटारस्थित निवासमै पुगेर भेट गरेका थिए।




















