काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी संगठनका गतिविधि निषेध गर्ने निर्णयलाई चरम अलोकतान्त्रिक कदम भएको बताएका छन्।
ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने तथा विश्वविद्यालयभित्र विद्यार्थी संगठनको उपस्थिति र अस्तित्व नै निषेध गर्ने निर्णय लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरेका छन्। साथै, विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्ने निर्णयलाई उनले प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।
उनले पञ्चायती व्यवस्थामा समेत यस्तो कदम नचालिएको स्मरण गर्दै यस्ता निर्णयमा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी सहमति जनाए भन्ने प्रश्न उठाएका छन्।
ज्ञवालीले विद्यार्थी आन्दोलनमा केही समस्या रहेको स्वीकार गर्दै त्यसलाई सुधार आवश्यक रहेको बताए। उनका अनुसार विद्यार्थी आन्दोलनले शिक्षाको गुणस्तर सुधार र स्वस्थ शैक्षिक वातावरण निर्माणमा भूमिका खेल्नुपर्ने भए पनि कहिलेकाहीँ मूल मुद्दाबाट विचलित हुने गरेको छ।
तर, समस्या समाधानका लागि विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउनु उपाय नभएको उनको भनाइ छ। उनले संवाद, रचनात्मक सहकार्य र विद्यार्थी आन्दोलनको रूपान्तरणमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेका छन्।
ज्ञवालीले कटाक्ष गर्दै प्रश्न गरेका छन्, “के कपालमा चायाँ पर्यो भनेर गर्दन नै छिनाउनु हुन्छ ?”




















