काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्।
स्रोतका अनुसार उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय मूलका कपुर बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल आएका हुन्।
काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्ने तथा सरकारका केही मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।
कपुरको नेपाल भ्रमण तीन दिनसम्म रहने र उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन्।




















