काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए ।
आजको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । यसअघि बैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो ।
बैठकले नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिए पछि सभापति थापाले आइतबार नेता खड्कासँग भेट गरेका छन् ।
केन्द्रीय अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइरहेका बेला भएको सभापति थापा र नेता खड्काबीचको भेटले स्थितिलाई सामान्यिकरण गर्ने आकलन गरिएको छ ।




















