काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महँगी नियन्त्रण गर्न, सुकुम्बासीलाई उचित विकल्पबिना उठीबास नलगाउन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध नगर्न सरकारसँग माग गरेको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमा पार्टीले विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई पुनर्वासको व्यवस्था नगरी हटाउने र झुप्रा भत्काउने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ। यस्ता गतिविधिलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पीडित परिवारका लागि उचित पुनर्वासको व्यवस्था गर्न माग गरिएको छ।
कार्यालय सचिव गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा भएका कार्यहरूले सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर बनाउने खतरा रहेको उल्लेख गरिएको छ।
पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुन सुझाव दिएको छ। ‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य भएको भन्दै पार्टीले विरोध जनाएको छ। पञ्चायती व्यवस्थामा समेत प्रयोग भएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्न खोजिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने चेतावनी दिँदै पार्टीले यस्तो कदम नलिन सरकारलाई आग्रह गरेको छ।
यसैबीच, नयाँ सरकार गठनसँगै बजारमा महँगी र कालोबजारी बढेको दाबी गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि पार्टीले माग गरेको छ। साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको जनअपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरिएको छ।





















