काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि आगामी रणनीति तय गर्न देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेला बसेको थियो।
पूर्णबहादुर खड्काको नेतृत्वमा भएको भेलापछि नेता कुन्दनराज काफ्लेले सर्वोच्चको निर्णयपछि अब पार्टी कुन दिशामा जाने भन्नेबारे छलफल सुरु भएको जानकारी दिए। उनका अनुसार विगतका उतारचढाव र वर्तमान अवस्थाबारे समेत समीक्षा गरिएको छ।
काफ्लेले पार्टी एकता कायम गर्न सबै नेता–कार्यकर्ताको आत्मबल बढाउनुपर्ने आवश्यकता औंल्याए। साथै, पार्टीप्रति जनताको असन्तुष्टि किन बढ्यो र साना दलतर्फ किन आकर्षण बढ्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।
उनले पार्टीभित्र असन्तुष्टलाई समेट्दै कमीकमजोरी पहिचान गर्नुपर्ने र त्यसका लागि सानेपा स्थित केन्द्रीय कार्यालय जिम्मेवार हुनुपर्ने धारणा राखे।
‘सानेपाको भित्तामा कराएर मात्र हुँदैन, आफ्ना कुरा राख्ने वातावरण खुला हुनुपर्छ,’ उनले भने, ‘यो स्वाभिमानको विषय हो, तर एकताका लागि सानेपा जिम्मेवार बन्नुपर्छ।’




















