काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको समूहले सर्वोच्च अदालतको पछिल्लो निर्णय स्वीकार्दै पार्टी सुदृढीकरणमा केन्द्रित हुने निष्कर्ष निकालेको छ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा आइतबार बिहान बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको हो।
नेता जीवन परियारका अनुसार पार्टीभित्र एकता कायम राख्ने मुख्य जिम्मेवारी सभापति गगन थापा माथि रहने निष्कर्ष निकालिएको छ। उनले पार्टीको बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माणमा सबै नेताहरू जिम्मेवार हुनुपर्ने बताए।
कोइराला समूहले पार्टी स्थापना कालदेखि नै स्वतन्त्र न्यायपालिकाप्रति विश्वास र सम्मान रहँदै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सबैलाई जिम्मेवार र प्रतिबद्ध हुन आह्वान पनि गरेको छ।
बैठकमा शशांक कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरू सहभागी थिए।
यसैबीच, सर्वोच्चको फैसलापछि कोइराला समूह शेरबहादुर देउवा पक्षीय छलफलमा सहभागी हुन छाडेको छ। शनिबार पूर्णबहादुर खड्का निवासमा भएको बैठकमा पनि सहभागी नभएको उक्त समूह आइतबार धुम्बाराहीमा जारी देउवा पक्षीय छलफलमा समेत अनुपस्थित रहेको छ।




















