काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका ओली आज डिस्चार्ज भएका हुन् । उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा शल्यक्रिया गरी झिकिएको थियो ।
चिकित्सकहरूको निगरानीमा आवश्यक उपचारपछि स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र घरमै आराम गर्न चिकित्सकहरूले सुझाव दिएपछि उनी डिस्चार्ज भएका हुन् ।
त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले उनको पित्तथैलीको शल्यक्रिया गरेको थियो । सो टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल, डा. दीपक शर्मासमेत संलग्न थिए । त्यसैगरी एनेस्थेसियोलोजीतर्फबाट डा. अमित शर्मा भट्टराई, डा.पंकज जोशी रहेका थिए ।
चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरी प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्थाको कारण देखाउँदै ओली सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ओलीको गिरफ्तारीलगत्तै पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकोले उनलाई अस्पतालमै राखिएको थियो ।




















