काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत दुई संसदीय समितिको सभापति निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
कांग्रेसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त रूपमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो।
शिक्षा समितिको सभापतिका लागि एमालेका गुरु बराल उम्मेदवार रहेका छन् भने संयुक्त समितिको सभापतिमा नेकपाकी मदनकुमारी शाहको उम्मेदवारी परेको छ।
यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा समितिमा ओजस्वी शेरचन र संयुक्त समितिमा गणेश कार्की उम्मेदवार बनेका छन्। सत्तारुढ दलसँग करिब दुई तिहाइ बहुमत भए पनि विपक्षी दलहरूले सहमति अनुसार यी दुई समितिमा उम्मेदवारी दिएका हुन्।
यसअघि बसेको विपक्षी दलहरूको बैठकमा समितिहरू बाँडफाँट गरी एक–एक समितिमा उम्मेदवारी दिने सहमति भएको थियो। त्यही सहमति अनुसार कांग्रेसले एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।
त्यसैगरी, सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले कांग्रेसलाई छाडेको छ, जसमा एमाले र नेकपाको समेत समर्थन रहने जनाइएको छ।




















