काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउँदै प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाएको छ। दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सबै सांसदलाई छलफलका लागि आह्वान गरेको हो।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार छलफल आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुनेछ। एक सांसदका अनुसार दलको कार्यालयमार्फत औपचारिक सूचना पठाउँदै छलफलमा उपस्थित हुन भनिएको छ।
यसअघि संयोजक रसाइलीले ४ चैतमा दलको नेता चयन गर्ने कार्यतालिका रहने बताएका थिए भने २ चैतमा निर्वाचन तालिका सार्वजनिक गर्ने जानकारी दिएका थिए। तर, हालसम्म कार्यतालिका भने सार्वजनिक गरिएको छैन।
दलको नेता बन्न अर्जुनरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र निश्कल राई इच्छकु देखिएका छन् । पार्टी सभापति गगन थापा सके केसी नत्र आचार्यको पक्षमा छन् भने उपाध्यक्ष विश्वप्रकाश शर्मा आङ्दम्बेको पक्षमा छन् । उनीहरुबीचको विवादकै कारण नेता चयन मतदानसम्म पुग्ने देखिएको छ ।




















