काठमाडौं । संघीय संसद्अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभाका विषयगत समितिहरूको सभापतिका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दर्ता गराएका छन्।
बिहीबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर दुवै दलका सांसदहरूले आ–आफ्ना उम्मेदवारी पेश गरेका हुन्।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एमालेका गुरु बरालले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्।
त्यस्तै, संघीय संसद्को संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपाकी मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा जनकराज जोशी र समर्थकमा पुष्पराज कँडेल रहेका छन्।
यससँगै संसदीय समिति सभापति चयनको प्रक्रिया थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।




















