काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको छ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति छन्। राष्ट्रिय सभाका विषयगत समितिका सभापति यसअघि नै चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार सभापति चयनका लागि निर्वाचन मिति घोषणा गरेका थिए।
व्यवस्था अनुसार सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक सदस्य प्रस्तावक र अर्का सदस्य समर्थक रही उम्मेदवारी दर्ता गर्न सक्ने प्रावधान रहेको छ।




















