काठमाडौं । मुस्ताङको नेपाल–चीन सीमास्थित कोरला नाका नजिकै आइतबार बिहान जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
काठमाडौं र पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको टोयोटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्मका डिएसपी भेषराज गिरीका अनुसार नाकाभन्दा करिब एक किलोमिटर दक्षिणतर्फको भिरालो सडकमा दुर्घटना भएको हो।
दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका–५ टोखा निवासी ३१ वर्षीय चालक नागमिन सुब्बा घाइते भएका छन्। जिपमा चालकसहित पाँच जना सवार रहे पनि अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते चालकलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जोमसोम अस्पतालतर्फ उपचारका लागि ल्याइँदै गरिएको छ। प्रारम्भिक अनुमानअनुसार कच्ची र भिरालो सडकका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हो।




















