काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच एकता कायम गर्न आग्रह गर्दै सभापति गगन थापा पक्षलाई पार्टी कमजोर बनाउने गतिविधि नगर्न चेतावनी दिएका छन् ।
कार्यवहाक सभापतिको हैसियतमा आज एक विज्ञप्ति प्रकाशित गर्दै खड्काले १५ औँ महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा भ्रम फैलाइएको भन्दै त्यसमा नपर्न नेता–कार्यकर्तालाई अपिल गरेका छन् । खड्काले वर्तमान जटिल राजनीतिक परिस्थितिमा आन्तरिक एकता आवश्यक भएको उल्लेख गर्दै गुटगत गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा केही पक्षले विधानविपरीत विशेष महाधिवेशनको बहानामा गतिविधि गरिरहेको उनको आरोप छ।
क्रियाशील सदस्यता खारेज गर्ने विषयमा पनि उनले आपत्ति जनाउँदै यस्तो निर्णय विधानअनुसार सम्भव नभएको स्पष्ट पारे। “कुनै नेताको आवेगपूर्ण अभिव्यक्तिका आधारमा सदस्यता खारेज हुन सक्दैन,” उनले बताएका छन्।
उनका अनुसार क्रियाशील सदस्यता पार्टीको ऐतिहासिक निरन्तरता, योगदान र सहिद परिवारको सम्मानसँग जोडिएको विषय हो, जसलाई मनोमानी ढंगले हटाउन सकिँदैन।
पार्टीभित्र भ्रम र निराशा फैलाउने प्रयासबाट टाढा रहन उनले सम्पूर्ण कांग्रेसजनलाई आग्रह गरेका छन्।






















