काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्न लागिएको नभई अद्यावधिक गर्न थालिएको स्पष्ट पारेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसवुक मार्फत धारणा सार्वजनिक गर्दै उनले सदस्यता खारेजबारे उठेका जिज्ञासालाई सम्बोधन गरेका हुन्। “हामीले क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं,” उनले बताएका छन्।
उनका अनुसार अद्यावधिक गरिएको क्रियाशील सदस्यताले पार्टीलाई गाउँ–गाउँसम्म सशक्त रूपमा जोड्नेछ। साथै, समर्पित सदस्यहरूको नवीकरणले संगठनलाई अझ जिम्मेवार र मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
पौडेलले विगतमा देखिएका त्रुटिहरू सुधार गर्न यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिइएको पनि बताए। परिस्कृत प्रणालीमार्फत अद्यावधिक गर्दा अघिल्ला समस्या र अन्योल हट्ने उनको भनाइ छ।
उनले मंगलबारदेखि सबै क्रियाशील सदस्यहरूलाई आफ्नो सदस्यता अद्यावधिक गर्न र कांग्रेसप्रति आस्था राख्ने नयाँ इच्छुकहरूलाई क्रियाशील सदस्यता लिन आग्रह समेत गरेका छन्।




















