काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । चैतको तुलनामा सात बैंकले दर घटाउँदा बाँकी १३ बैंकले यथावत् राखेका छन् । यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.४० प्रतिशतमा झरेको छ, जुन अघिल्लो महिना ४.४९ प्रतिशत थियो ।
बैंकहरूमा निक्षेप बढ्दै गएको तर कर्जाको माग अपेक्षाकृत नबढ्दा लागत घटाउन ब्याजदर निरन्तर ओरालो लगाइएको हो। एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले यस महिना ब्याजदर घटाएका छन् भने अन्य बैंकहरूले पुरानै दर कायम राखेका छन्।
वैशाखका लागि एनएमबी बैंकले ५ वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर तोकेको छ, जुन सबैभन्दा उच्च हो। अन्य बैंकहरूको ब्याजदर भने ५ प्रतिशतभन्दा तल झरेको छ। सिद्धार्थ बैंकले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ४.१० प्रतिशत निर्धारण गर्दा कृषि विकास, सिटिजन्स र प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर (बेस रेट) पनि घट्ने भएकाले ऋणको ब्याजदरमा समेत कमी आउने अपेक्षा गरिएको छ। यसले हालका तथा नयाँ ऋणीहरूलाई केही राहत दिने देखिन्छ।
अहिले वित्तीय प्रणालीमा अधिक तरलता रहेको र कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर इतिहासकै न्यून स्तर नजिक पुगेको बैंकर्स बताउँछन्। राष्ट्र बैंकले समेत विभिन्न उपकरण प्रयोग गरी बजारबाट तरलता व्यवस्थापन गरिरहेको छ।




















