मुम्बई । भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोसलेको निधन भएको छ । अत्यधिक थकान र छातीमा सङ्क्रमण देखिएपछि शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको उपचारकै क्रममा निधन भएको हो।
यसअघि उनलाई हृदयघात भएको भन्ने खबर बाहिरिए पनि उनकी नातिनी जनाई भोसलेले त्यसको खण्डन गर्दै छातीमा सङ्क्रमण भएको स्पष्ट पारेकी थिइन्। अस्पताल भर्नापछि उनलाई आपतकालीन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
उनको स्वास्थ्य अवस्थाबारे नरेन्द्र मोदीले समेत चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
सात दशक लामो सांगीतिक यात्रा
आशा भोसलेले आफ्नो करिअरमा १२ हजारभन्दा बढी गीत गाएकी थिइन्। सात दशकभन्दा लामो यात्रामा उनले विभिन्न भाषा र शैलीमा हजारौँ गीतहरू गाएर संगीत क्षेत्रमा अमिट छाप छोडिन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीत आज पनि लोकप्रिय छन्।
उनी प्रसिद्ध कलाकार दीनानाथ मंगेशकर की छोरी तथा महान गायिका लता मंगेशकर की कान्छी बहिनी हुन्। सानै उमेरमा बाबुको निधन भएपछि उनले परिवारको जिम्मेवारी सम्हाल्दै गायन यात्रा सुरु गरेकी थिइन्।
व्यक्तिगत जीवन र संघर्ष
१६ वर्षको उमेरमा उनले परिवारको इच्छाविपरीत गणपतराव भोसलेसँग विवाह गरेकी थिइन्, तर यो सम्बन्ध लामो समय टिक्न सकेन। पछि उनले चर्चित संगीतकार आरडी बर्मन सँग विवाह गरिन्, जससँग उनले धेरै यादगार गीतहरू सिर्जना गरिन्। १९९४ मा बर्मनको निधनसम्म उनीहरू सँगै रहे।
सम्मान र उपलब्धि
आशा भोसलेले आफ्नो करिअरमा ७ वटा फिल्मफेयर अवार्डसहित अनेकौं सम्मान प्राप्त गरिन्। सन् २००० मा उनलाई दादासाहेब फाल्के पुरस्कार र सन् २००८ मा पद्म विभूषण प्रदान गरिएको थियो।
नेपाली गीतमा पनि अमिट छाप
हिन्दी मात्र नभई उनले नेपालीसहित करिब २० भाषामा गीत गाएकी थिइन्। ‘मोहनी लाग्ला है’, ‘पहाडको माथी माथी’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘एउटा मान्छे मनपर्छ’ लगायतका उनका नेपाली गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
उनको निधनसँगै भारतीय तथा दक्षिण एशियाली संगीत क्षेत्रले एक युगीन आवाज गुमाएको छ।




















