काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले सीमा अतिक्रमणको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् ।
नरेन्द्र मोदीको निमन्त्रणापछि प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा रहेको बताइए पनि भ्रमणको मिति भने तय भइसकेको छैन।
हर्क साम्पाङले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भारतसँग जोडिएका सीमा विवादका विषयमा स्पष्ट र कडा धारणा राख्न आग्रह गरेका हुन्। एक भिडियो सन्देशका साथै स्टाटस समेत लेखेर उनले विशेषगरी महाकाली क्षेत्रमा भइरहेको भनिएको सीमा अतिक्रमण रोक्न र लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा नाका खोल्दा नेपालको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गर्न माग गरेका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक बन्ने अपेक्षा व्यक्त गर्दै तत्कालका लागि यी दुई विषय सम्बोधन हुन सके पर्याप्त हुने उल्लेख गरेका छन्।
साम्पाङले लेखेका छन् ––”सम्मानीय प्रधान मन्त्री बालेन्द्र शाह ज्यु… तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए पुग्छ अहिलेलाई !”




















