काठमाडौँ । अमेरिका र इरानबीच इस्लामाबादमा भएको बहुप्रतीक्षित वार्ता निष्कर्षविहीन बनेको छ। वार्ता असफल भए पनि पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ ।
शनिबार अपराह्नदेखि सुरु भई करिब २१ घण्टा चलेको वार्तापछि कुनै सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित आइतबार बिहान स्वदेश फर्किएका छन्।
पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलनमार्फत कठिन तर अर्थपूर्ण वार्ता भएको उल्लेख गर्दै सम्झौता गराउने प्रयास निरन्तर जारी रहने बताएका छन्। उनले असिम मुनिरसँग मिलेर दुवै पक्षलाई वार्तामा राख्न प्रयास गरेको जानकारी दिए।
अमेरिकी पक्षले इरानसँग सम्झौता हुन नसक्नु इरानकै लागि घाटा भएको दाबी गरेको छ। उपराष्ट्रपति भान्सले इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेका थिए।
उता इरानले भने अमेरिकी सर्तहरू अत्यधिक कडा भएकाले सहमति हुन नसकेको प्रतिक्रिया दिएको छ। इरानी सञ्चारमाध्यमका अनुसार वार्ता कुनै निष्कर्षबिना समाप्त भएको हो।
यसअघि दुई साताका लागि युद्धविराम भएपछि दीर्घकालीन समाधान खोज्ने उद्देश्यले दुवै देश पाकिस्तानको मध्यस्थतामा वार्तामा बसेका थिए। तर युद्धविरामपछि पनि इजरायलले लेबननमा आक्रमण जारी राखेपछि वातावरण झन् तनावपूर्ण बनेको थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ, जसले शान्ति प्रयासलाई थप जटिल बनाएको छ।




















