काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीचको सम्बन्ध पछिल्लो समय चिसिँदै गएको छ । सरकार गठनका क्रममा मन्त्री छनोटबारे भएको आन्तरिक छलफलमा प्रधानमन्त्रीका रूपमा अगाडि आएका बालेनले कडा प्रतिक्रिया दिएको खुलासा भएको छ। प्राप्त समाचारअनुसार मन्त्री कसलाई बनाउने भन्ने विषयमा बहस चलिरहँदा उनले ‘यहाँसम्म परिस्थिति कसरी आइपुग्यो, त्यति बुझ्नुस्, अरू कुरा नगर्नुस्’ भन्दै असन्तुष्टि जनाएका थिए । उनको यस्तो अभिव्यक्तिपछि सभापति रवि लामिछाने मौन बनेका थिए । यस घटनाले पार्टीभित्र अपेक्षित सौहार्द्र कायम हुनेमा नै शंका उत्पन्न गरेको बताइन्छ।
रास्वपाभित्र मन्त्री चयनको विषय अहिले पनि विवादको केन्द्रमा रहेको देखिन्छ। पुराना नेताहरू चयनप्रति पूर्ण सन्तुष्ट छैनन् । विशेषगरी गृहमन्त्री बनेका सुदन गुरुङको मर्यादाक्रमलाई लिएर असन्तुष्टि बढेको छ। पहिले नै मन्त्री भइसकेकाभन्दा पछि आएका व्यक्तिलाई माथिल्लो स्थान दिइएको भन्दै असहमति देखिएको हो । मर्यादाक्रम मिलाउँदा बालेन र रवि पक्षधरलाई पालैपालो राखिएको जस्तो देखिने विश्लेषण पनि गरिएको छ ।
सुदन गुरुङ गृहमन्त्री बन्ने विषयले पार्टीभित्र मात्र होइन, बाहिरका व्यक्तिहरुलाई पनि आश्चर्यमा पारेको छ । तर केही नेताहरूका अनुसार उनले यसअघि नै गृहमन्त्रीबाहेक अन्य मन्त्रालयमा छलफल नगर्न सुझाव दिएका थिए । यही कारण उनको नियुक्ति अप्रत्याशित भए पनि केहीका लागि स्वाभाविक मानिएको छ।
यता, बालेन निकट मानिएका केही व्यक्तिहरूसँग पनि सम्बन्ध चिसिँदै गएको छ । विभिन्न व्यवसायिक र राजनीतिक गतिविधिका क्रममा उत्पन्न असमझदारीका कारण बालेनका निकटहरु पनि उनीबाट टाढिँदै गएका छन् ।
यसैबीच, समग्र राजनीतिक परिदृश्यमा अन्य विषयले पनि तरंग ल्याएको छ । उपेन्द्र यादवसँग जोडिएको गौर घटनाबारे पुनः अनुसन्धान र सम्भावित कारबाहीको चर्चा चलिरहेको छ। कतिपय विश्लेषकहरूले नयाँ सरकारले छिमेकी देशसँग नजिकिएर काम गर्न थालेको टिप्पणी गरेका छन् । यी सबै घटनाक्रमले सरकार गठनसँगै आन्तरिक तथा बाह्य रूपमा राजनीतिक दबाब र जटिलता बढ्दै गएको संकेत देखिन्छ ।




















