काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनले आरोप लगाएका हुन् । सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताए ।
उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाए । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ तयार छन् कि छैनन् ? भन्दै प्रश्न गरे ।
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष
नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गरेका छन् ।
उनले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गरेका हुन् । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उनले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराए । पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताए ।
पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनर्स्थापित गर्ने संकल्प गरे ।




















