काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलबीच कुनै फरक नभएको बताएका छन् ।
उपसभामुख चयनका लागि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले नयाँ र पुराना दलको विचारको नाभी एउटै रहेको पनि बताएका छन्। उनले नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै अलग रहेको उल्लेख गरे ।
उनले अहिलेको संसद्मा बलियो प्रतिपक्षका रुपमा राप्रपा मात्रै रहेको पनि बताए । सम्बोधनका क्रममा शाहीले उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आश्वासन दिएकैले उम्मेदवारी दिएको खुलाए ।
उनले अब उपसभामुखको उम्मेदवारीसँगै नेपालको राजनीतिमा कित्ताकाट भइसकेको दाबी गरे । शाहीले उपसभामुखमा उम्मेदवारी एक थान पदका लागि मात्रै नभएको पनि जिकिर गरेका छन् ।




















