काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी दिँदै बाँकी कानुनी र राजनीतिक संघर्ष जारी रहने बताएका छन् ।
हाजिरी जमानीमा बिहीबार रिहा भएका लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो रिहाइबारे जानकारी दिँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका हुन्।
उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको आरोप लगाए। सोही प्रतिवेदनका आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राखिएको उनले उल्लेख गरेका छन्।
लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू, शुभेच्छुक र सञ्चारकर्मीप्रति धन्यवाद प्रकट गरेका छन्।
साथै, उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गर्दै आफू कानुनको पालना गर्ने र न्यायमा विश्वास गर्ने बताएका छन्।




















