काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरेका हुन् भने लामाले ४१३ मत प्राप्त गरेका छन् ।
निर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय व्यवसायीका रूपमा परिचित छन्। उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै एएसी ब्रिक उत्पादक संघका अध्यक्ष पनि हुन्। युवा उद्यमीका रूपमा चिनिएका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न ठूला पूर्वाधार परियोजनामा काम गर्दै आएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेका छोरा पनि हुन्।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त निर्वाचित भएका छन्। उनले ४७४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै दोस्रो प्रमुख पदमा स्थान सुरक्षित गरे।
महासचिव पदमा शिवहरि घिमिरे विजयी भएका छन्। उनले ५२७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी बलिभद्र रानालाई पराजित गरे। रानाले ३८० मत पाएका थिए।
यस्तै, नीतिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोस शाह निर्वाचित भएका छन् ।




















