काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई अस्पताल पुर्याइएपछि चिकित्सकहरूले उनको मुटुमा राखिएको पेसमेकर परिवर्तन गरेका छन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको पेसमेकर पहिले बैंककमा राखिएको थियो। सो उपकरणको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको हो।
चिकित्सकहरूका अनुसार मुटुको चाल कमजोर भएपछि पेसमेकर प्रयोग गरिन्छ। हाल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनभित्र डिस्चार्ज गरिने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।
पेसमेकर मुटुलाई आवश्यक गतिमा धड्किन सहयोग गर्ने कृत्रिम उपकरण हो। मुटुले स्वाभाविक रूपमा चाल उत्पादन गर्न नसक्दा चक्कर लाग्ने, बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्, जसको उपचारका लागि यस्तो उपकरण प्रयोग गरिन्छ।




















