काठमाडौँ । शेरबहादुर देउवा र शेखर कोइराला समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्नुमा पार्टीभित्रकै केही नेताको भूमिका सहयोगी बनेको निष्कर्ष निकालेका छन् ।
धुम्बाराहीस्थित होटल स्मार्टमा मंगलबार र बुधबार बसेको बैठकले विशेष महाधिवेशनको विवादका कारण नेपाली कांग्रेस विभाजित हुँदा रास्वपा बलियो बनेको ठहर गरेको हो।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै गम्भीर आरोप लगाए। उनका अनुसार कांग्रेस कमजोर नबनुन्जेल रास्वपाले दुई तिहाइ नजिक पुग्न सक्दैनथ्यो, त्यसैले पार्टीभित्रैबाट नियोजित रूपमा विभाजन गराइएको हो।
शेखर कोइरालाले पनि केही नेताहरू ‘कन्ट्रोल्ड डेमोक्रेसी’ को अभ्यासमा प्रयोग भएको आरोप लगाउँदै पार्टी एकतामा भाँजो हाल्ने शक्ति सक्रिय रहेको बताए। उनले गगन–विश्वप्रकाश पक्षसँग संवादमार्फत सहमति सम्भव भए पनि ‘झुकेर होइन’ भन्ने अडान व्यक्त गरे।
अनुशासन समितिले खड्कालाई सचेत गराउने निर्णयप्रति पनि बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ। कोइराला र खड्काले उक्त निर्णयले कांग्रेसलाई झन् कमजोर बनाउने तर्क गरेका छन्।
यस्तै नेता विमलेन्द्र निधि ले आफूहरू नै वैध कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक कांग्रेस भएको निष्कर्ष बैठकले निकालेको छ।



















