काठमाडौँ । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
शनिबार बिहानै प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएपछि ओली आफ्नै गाडीमा प्रहरी परिसर आइपुगेका थिए । उनले आफूलाई पक्राउ गर्नु राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन् ।
यता नेकपा (एमाले) ले भने आफ्ना अध्यक्षको पक्राउलाई ‘नियोजित र निर्देशित’ भन्दै तत्काल रिहाइको माग गरेको छ ।




















