काठमाडौँ । एमाले नेता एवं केन्द्रीय सदस्य महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरेसँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोधतर्फको यात्रा प्रारम्भ गरेको बताएका छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता, मुठभेड र द्वन्दतर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको छ । यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ । मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरुले सरकारको यसप्रकारको बदनियतपुर्ण हर्कतको सशक्त बिरोध र प्रतिबाद गर्न जरुरी छ ।’
राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो । तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ ।
बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको छ ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा आमजनताले दुःख व्यक्त गरेका छन् ।
यसैगरी प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आमजनता एकजुट हुनुपर्ने देखिएको छ ।




















