काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ।
शनिबार अदालत बिदा हुने भएकाले प्रहरीले दुवैलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा पेस गर्ने तयारी गरेको हो । यसका लागि प्रक्रिया जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमार्फत अघि बढाइने बताइएको छ ।
प्रचलित कानुनअनुसार प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले अधिकतम २४ दिनसम्म थुनामा राख्न सक्ने व्यवस्था छ । तर त्यसका लागि अदालतको अनुमति अनिवार्य हुने भएकाले आइतबार अदालतले यसबारे निर्णय गर्नेछ ।
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उहाँहरूलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा लापरबाही भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो ।




















